जनगुनासो सम्बोधन गर्दै पछाडि परेका क्षेत्रकाे बिकासमा केन्द्रित छौँ : उपाध्यक्ष बुढाथोकी

सुनखानी, दोलखा – कालिञ्चोक गाउँपालिकाले विकास निर्माणलाई तीव्रता दिँदै पछाडि परेको बस्ती र क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ।

गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको नेतृत्व तथा सक्रियतामा जनताको आवश्यकता र गुनासोलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने नीति कार्यान्वयनमा ल्याइएको छ।

उपाध्यक्ष बुढाथोकीले भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका कार्यक्रमहरू सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विकासको पहुँच सबै नागरिकसम्म समान रूपमा पुर्‍याउन नसकेसम्म समृद्ध गाउँपालिकाको परिकल्पना पूरा नहुने स्पष्ट पार्नुभयो।

विशेष गरी भौगोलिक रूपमा दुर्गम तथा विकासबाट पछाडि परेका वडाहरूमा आधारभूत पूर्वाधार विस्तार, सेवा प्रवाहमा सुधार र लक्षित कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।

जनताबाट आएका गुनासो, सुझाव र मागलाई व्यवस्थित रूपमा संकलन गरी छिटोछरितो समाधान गर्ने प्रणाली विकास गरिएको जानकारी दिनुभयो।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको शासन व्यवस्था भएकाले जनताको आवाजलाई नीति तथा कार्यक्रममा समेटेर व्यवहारमा उतार्नु नै आफ्नो मुख्य दायित्व रहेको उपाध्यक्ष बुढाथोकीको भनाइ छ।

गाउँपालिकाले आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस