कालिन्चोकको ‘ह्याट्रिक’ : एउटै पालिकाबाट तीन सांसद

सुनखानी — दोलखाको कालिन्चोक गाउँपालिकाबाट मात्रै तीन जना सांसद निर्वाचित भएका छन्। प्रतिनिधिसभाको समानुपातिकतर्फ स्मृति सेन्चुरी बनेसँगै कालिन्चोकबाट तीन जनाले संसदमा प्रतिनिधित्व गर्ने भएका हुन्।

सेन्चुरी र जगदीश खरेल दुवै कालिन्चोक गाउँपालिकाकै बासिन्दा हुन्। सेन्चुरीको स्थायी घर कालिन्चोक–३ लामिडाँडा रहेको छ भने खरेल कालिन्चोक–८ सुनखानीका हुन्। खरेल यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भइसकेका छन्।

यसैगरी कालिन्चोक–७ का अर्का जगदीश खरेल पनि ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा प्रत्यक्ष निर्वाचन जित्न सफल भएका छन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै कालिन्चोक गाउँपालिकाबाट मात्रै तीन जना सांसद निर्वाचित भएपछि स्थानीय तहमा यसलाई महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस