संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह

सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन कार्यान्वयन गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८३ का कार्यक्रमहरू निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न भनिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीद्वारा हस्ताक्षरित सूचनामा वैशाख महिनाभित्रै विद्यालयहरूले शैक्षिक योजना, सुधार योजना तथा विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू तयार गर्न निर्देशन दिइएको छ।

पालिकाले शिक्षकहरूको पेशागत क्षमता विकास, वार्षिक कार्यतालिका निर्माण, विद्यार्थी भर्ना अभियान सञ्चालन तथा पाठ्यपुस्तक वितरणलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरेको छ।

साथै विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघ गठन, शिक्षक कार्यसम्पादन मूल्यांकन र आचारसंहिता निर्माणजस्ता कार्यहरू पनि तोकिएको समयमै सम्पन्न गर्न भनिएको छ।

सूचनाअनुसार वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गर्न समेत विद्यालयहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस