कालिञ्चोक गाउँपालिकाले काठमाडौंमै पुगेर दियो सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सेवा, पाँच सय भन्दा बढी लाभान्वित

काठमाडौं — सामाजिक सुरक्षा भत्ताको नवीकरणका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरिएसँगै ज्येष्ठ नागरिक र अन्य लाभग्राहीलाई सेवा लिन कठिनाइ भइहरँदा कालिञ्चोक गाउँपालिकाले भने राजधानीमै सेवा प्रवाह गरेर ज्येष्ठ नागरिकलाई ठूलो राहत प्रदान गरेको छ ।

काठमाडौँ उपत्यकामा अस्थायी बसोबास गरिरहेका सेवाग्राहीका लागि कालिञ्चोक गाउँपालिकाले साउन २६ गतेदेखि १४ भदौसम्म तीन साता लामो सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित फोर्सपार्कमा रहेको एक सटरमा सञ्चालित शिविरबाट पाँच सयभन्दा बढी लाभग्राहीले सेवा लिएको शिवीरमा खटिएका पालिकाका कर्मचारी धिरेन्द्र बुढाले जानकारी दिनुभयो ।

शिविर वडा नं ४ का वडाध्यक्षसमेत रहेका दीपक खुलालको घरमा सञ्चालन गरिएको थियो। कालिन्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको पहल र निर्देशनमा सम्पन्न शिवीरले नवीकरण प्रक्रिया सहज बनाउनुका साथै सेवाग्राहीको आत्मसम्मानलाई समेत उच्च बनाएको छ।

शिविरबाट सेवा लिएका अधिकांश लाभग्राही ज्येष्ठ नागरिकहरुले राजधानीमै सेवा प्राप्त गर्नु विशेष राहत बन्यो। अब भत्ता नवीकरणका लागि पुनः गाउँ जानुपर्ने, लामो यात्रा गर्नुपर्ने, वा कागजातमा अलमल झेल्नुपर्ने बाध्यता उनीहरूको काँधबाट हटेको छ।

बायोमेट्रिक प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने बाध्यताको दबाबलाई सहज बनाउन राजधानीमा सेवा पुर्‍याउनु, परम्परागत ढर्राबाट फरक सोच प्रस्तुत गर्नु हो। यो सेवा प्रवाह गरेर कालिन्चोक गाउँपालिकाले प्रविधिको प्रयोगसँगै नागरिकमैत्री शासनको स्पष्ट परिचय दिएको छ।

प्रतिक्रिया दिनुहोस