कालिञ्चोक-४ मा योजनाबद्ध विकासलाई प्राथमिकतामा राख्दै अघि बढेका छौ : वडाध्यक्ष दीपक खुलाल

कालिञ्चोक, दोलखा — कालिञ्चोक गाउँपालिका वडा नंं ४ ले पछिल्ला तीन वर्षमा समग्र विकासका क्षेत्रमा उत्साहजनक प्रगति हासिल गरेको छ । यो अवधिमा वडाले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको हो ।

वडाध्यक्ष दीपक खुलालले आफूले जिम्मेवारी सम्हालेयता वडाले योजनाबद्ध र जनउत्तरदायी विकासलाई प्राथमिकतामा राख्दै अघि बढेको बताउनुहुन्छ । उहाँका अनुसार प्रारम्भमा सीमित स्रोत–साधन र भौगोलिक चुनौतीबीच पनि समुदायको साथ र इच्छाशक्तिका कारणले वडामा अपेक्षाकृत उपलब्धिहरू सम्भव भएका छन्।

वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका बस्तीहरूमा अब स्वच्छ पानीको पहुँच पुग्ने चरणमा रहेको वडाध्यक्ष खुलाले बताउनुभयो । नयाँ खानेपानी योजनाहरू सुरु हुनुका साथै पुराना योजना मर्मत तथा विस्तार गरिँदा गाउँलेहरूमा उत्साह थपिएको छ। प्रदेश सरकार र पालिकाको बजेटमा यो आर्थिक वर्षबाट खानेपानी योजना पूरा हुने वडाध्यक्ष खुलालको भनाई छ ।

साथै, सडक विस्तार र सुधारले आवतजावत सहज बनाउँदै लगिएको छ । शैक्षिक संस्थाहरूको भौतिक अवस्था सुधार, नियमित पठनपाठनको प्रवाह तथा छात्रवृत्ति वितरणले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाएको छ। स्वास्थ्य चौकीहरू सुदृढ पारिँदै नियमित स्वास्थ्य शिविरहरू सञ्चालन भएपछि स्थानीयले घरआँगनमै सेवा पाउन थालेका छन्।

तीन वर्षको अवधिमा जनताको विश्वास जित्दै अघि बढेको वडाले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, समावेशी योजना र दिगो विकासलाई केन्द्रमा राख्ने जनाएको छ। वडाध्यक्ष खुलाल भन्नुहुन्छ, “हामी जनताको साथमा छौं, र जनताको आवश्यकता नै हाम्रो योजना बन्नेछ।” साथै घरघरमा पुगेर सामाजीक सुरक्षा भक्ता वितरण तथा सामाजीक सुरक्षा भक्ताको नवीकरण काठमाडौंमा पुगेर गर्ने जस्ता मानवीय विकासमा पनि लागिपरेको छ ।

साबिकको लामीडाँडा गाविसको वडा नं १, २, ३, ४, ५ लाई कायम गरि कालिञ्चोक गाउँपालिका–४ बनेको हो । २०७९ सालको निर्वाचनमा यस वडामा दीपक खुलाल अध्यक्ष र दुर्गा न्यौपाने, रिता विक, नवीन कुमार श्रेष्ठ र छत्र बहादुर कार्की सदस्यमा निर्वाचीत हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस