दोलखाबाट इन्जिनियर जगदीश खरेल बने रास्वपाका उम्मेदवार

चरिकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोलखा जिल्लाबाट इन्जिनियर जगदीश खरेललाई आगामी प्रतिनिधि सभा (संसद) निर्वाचनका लागि उम्मेदवार बनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीको केन्द्रीय निर्णयअनुसार खरेललाई दोलखा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाइएको हो।

कालिन्चोक गाउँपालिका–८, सुनखानी निवासी खरेल यसअघि पनि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भइसकेका व्यक्ति हुन्। प्राविधिक पृष्ठभूमिबाट राजनीतिमा सक्रिय खरेललाई रास्वपाले सुशासन, पारदर्शिता र विकासमुखी सोच भएका उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।

इन्जिनियरिङ् पृष्ठभूमिका खरेलले लामो समयदेखि स्थानीय विकास, पूर्वाधार, रोजगारी सिर्जना तथा सार्वजनिक सेवा सुधारका विषयमा आवाज उठाउँदै आएका छन्। दोलखा जस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण जिल्लामा योजनाबद्ध विकास, सडक तथा पूर्वाधार सुदृढीकरण, शिक्षा–स्वास्थ्य सेवाको पहुँच विस्तार र युवालाई रोजगारीसँग जोड्ने विषयलाई उनले प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले दोलखामा परम्परागत राजनीतिक प्रवृत्तिबाट अलग्गै रहेर नयाँ सोच र नयाँ अभ्यासमार्फत जनताको विश्वास जित्ने उद्देश्यका साथ उम्मेदवार चयन गरेको बताएको छ। पार्टीका अनुसार, खरेलको उम्मेदवारीले दोलखामा वैकल्पिक राजनीतिप्रति आकर्षण बढ्ने विश्वास लिइएको छ।

स्थानीय स्तरमै बसेर सामाजिक तथा विकासका विषयमा सक्रिय रहँदै आएका खरेलको उम्मेदवारीलाई युवा, पेशाकर्मी तथा परिवर्तन चाहने मतदाताहरूले सकारात्मक रूपमा लिएको बताइन्छ। आगामी निर्वाचनमा दोलखामा रास्वपाको संगठन विस्तार र मत परिणाम कस्तो आउने भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस