म मैदानमै छु, दोलखाका लागि सधैँ सक्रिय रहनेछु : बालकृष्ण शिवाकोटी

दोलखा। नेकपा (एमाले) का नेता बालकृष्ण शिवाकोटीले दोलखावासी जनताको माया, भरोसा र साथप्रति हार्दिक आभार व्यक्त गर्दै आफू सधैँ जिल्लाको विकास, समृद्धि र जनसेवामा प्रतिबद्ध रहने स्पष्ट गर्नुभएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिकूल परिस्थितिका बाबजुद प्राप्त जनसमर्थनलाई आफ्नो राजनीतिक यात्राको अमूल्य पूँजीको रूपमा लिँदै नेता शिवाकोटीले उम्मेदवार बन्न नसके पनि दोलखाली जनतासँगको सम्बन्ध अझ बलियो बनेको बताउनुभयो।

उहाँले आगामी दिनमा पनि जनताको सुख–दुःखमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भूकम्प, कोरोना महामारी, बाढी–पहिरोजस्ता कठिन समयमा दोलखावासीको साथमा उभिँदै आएको स्मरण गर्दै उहाँले उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र जिल्लाको आत्मनिर्भर विकासका लागि निरन्तर पहल जारी रहने उल्लेख गर्नुभयो।

“राजनीति मेरो पेशा होइन, प्रतिबद्धता हो,” भन्दै नेता शिवाकोटीले पार्टी, जनता र दोलखाप्रतिको समर्पणमा कुनै कमी नआउने स्पष्ट पार्नुभएको छ। साथै, पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई विजयको शुभकामना दिँदै संगठन सुदृढीकरण र एकताको आवश्यकता औँल्याउनुभएको छ।

अन्त्यमा उहाँले दोलखाको माटोसँग आफ्नो सम्बन्ध अटुट रहेको दोहोर्याउँदै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो राजनीतिक शक्ति भएको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस