भिरामुनी सेतिदेवी मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान–महायज्ञ आयोजना हुँदै
दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्
दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा नैतिकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ श्री भिरामुनी सेतिदेवी मन्दिर संरक्षण समिति र श्री भिरामुनी सेतिदेवी एकता समाजको संयुक्त आयोजनामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान–महायज्ञ आयोजना हुने भएको छ।
महायज्ञ २०८२ साल माघ १८ गतेदेखि कालिन्चोक गाउँपालिका वडा नं. ४ स्थित भिरामुनी सेतिदेवी मन्दिरको प्राङ्गणमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। माघ १७ गते जग्गे निर्माण गरिनेछ भने माघ १८ गते बिहान ७:३० बजे कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा भव्य कलश यात्रा आयोजना गरिनेछ। सोही दिन बिहान १०:३० बजे मण्डप पूजन र दिउँसो १२:३० बजेबाट श्रीमद् भागवत कथा आरम्भ हुनेछ।

महायज्ञ अवधिभर प्रत्येक दिन बिहान ७:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म संगीतमय श्रीमद् भागवत कथा पाठ, भजन–कीर्तन सञ्चालन हुने जनाइएको छ। माघ २३ गते साँझ लाखबत्ती जाग्राम तथा माघ २४ गते तिलार्चन, हवन, पूर्णाहुति र समापन कार्यक्रम सम्पन्न गरिनेछ।
महायज्ञका प्रमुख कथावाचक पं. सुशील भण्डारी, उप–वाचक पं. सुदाम सुवेदी तथा सहायक गुरु हरिराज भण्डारी रहनु भएको छ।
आयोजक संस्थाले कथा वाचन, पूजा–हवन, लाखबत्ती, मण्डप व्यवस्थापन, ध्वनि प्रणाली, प्रसाद वितरण, अतिथि सत्कारलगायतका व्यवस्थापनका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाउँदै धर्मप्रेमी भक्तजनहरूलाई स्वेच्छिक दान–दक्षिणा तथा सहयोगका लागि आग्रह गरेको छ।
दानदाताहरूको नाम श्रद्धापूर्वक अभिलेखमा राखी आवश्यकताअनुसार सार्वजनिक रूपमा कृतज्ञता ज्ञापन गरिने आयोजकले जनाएको छ। यस पवित्र धार्मिक अनुष्ठानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भई धर्मलाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।
दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्

