वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा कालिन्चोकको अवस्था कस्तो छ ?

सुनखानी, १ फागुन : दोलखा जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा कालिन्चोक गाउँपालिकाले चुनौतीपूर्ण अवस्थाबीच पनि सुधारको स्पष्ट संकेत देखाएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकनअनुसार कालिन्चोकले ५३ दशमलव ३० अंक प्राप्त गर्दै वित्तीय अनुशासन, बजेट व्यवस्थापन र सेवा प्रवाहतर्फ क्रमशः अघि बढिरहेको सन्देश दिएको छ।

विशेषगरी पछिल्ला वर्षहरूमा गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको नेतृत्वमा सुशासन सुदृढीकरण, आन्तरिक व्यवस्थापन सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा निरन्तर प्रयास भइरहेको छ।

अध्यक्ष शिवाकोटीको नेतृत्वमा नीति–नियमको पालना, योजना कार्यान्वयनमा पारदर्शिता र नागरिकसँगको समन्वयलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको स्थानीय तहले जनाएको छ।

बजेट समयमै सार्वजनिक गर्ने अभ्यास, आन्तरिक राजस्व परिचालनलाई व्यवस्थित बनाउने पहल, बेरुजु फछ्र्यौटमा ध्यान तथा शिक्षा–स्वास्थ्य क्षेत्रको सेवा गुणस्तर सुधारतर्फ चालिएका कदमहरूले कालिन्चोकलाई सकारात्मक यात्रामा डोर्‍याइरहेका छन्। यिनै प्रयासका कारण आगामी मूल्यांकनमा अझ राम्रो नतिजा हासिल गर्ने आधार तयार हुँदै गएको देखिन्छ।

समग्रमा, कालिन्चोक गाउँपालिकाले वर्तमान नतिजालाई सिकाइका रूपमा लिँदै प्रशासनिक क्षमता र वित्तीय जवाफदेहितामा थप सुधार गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।

स्थानीय सरकार र जनप्रतिनिधिहरूको सक्रियता कायम रहेमा कालिन्चोकले निकट भविष्यमै जिल्लाभित्र अझ बलियो उपस्थिति बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस